October 2, 2024
April 21, 2023
नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली ल्याएको ४ वर्षपछि गत साउन र भदौमा ८ वटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकको लाइसेन्स वितरण गर्यो । ती मध्येको एक ‘अवसर इक्विटी डाइभर्सीफाइड फण्ड’ले काम थालेको छ । यसको माउ कम्पनी ‘अवसर इक्विटी लिमिटेड’ हो
लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुव तिमल्सिना हुन् । उनीसँग नेपालमा यस्ता कोष व्यवस्थापकका सम्भावना, अवसर र चुनौतीबारे अनलाइनखबरका विजय पराजुलीले गरेको कुराकानीको सम्पादित अंशः
परम्परागत बैंकिङ फाइनान्सिङभन्दा फरक किसिमले लगानी गर्ने वैकल्पिक माध्यम विशिष्टीकृत लगानी कोष हो । यसले सूचीकृत नभएको धितोपत्रमा लगानी गर्छ । यसका फरक प्रकार र प्रकृति छन् । हाम्रोमा विशिष्टीकृत लगानी कोष भनेर सुरु भएको छ ।
विशिष्टीकृत लगानी कोषले कस्ता योजनामा कसरी लगानी गर्छ ?
इक्विटी लगानीका लागि लगानीकर्ताको फरक योजना हुन्छन् । स्टार्टअपमा लगानी गर्नेलाई मात्र वैकल्पिक लगानी कोष भन्ने होइन ।
व्यवसायको सुरुदेखि नै विविध चरण हुन्छ । स्टार्टअपलाई सीड क्यापिटल भन्न सकिन्छ । राम्रो ज्ञान–सीप भएकाले सुरुमा आफ्नै लगानीमा आफ्नो सोचलाई अगाडि बढाउन सक्छन् । सोच आयो भन्दैमा व्यक्तिले ह्वातै लगानी गरिहाल्दैन । व्यवसायको सम्भावना र समाजको अवस्था हेरेर लगानी गरिन्छ । समाजमा प्रभाव पार्ने देखिए परिवारका सदस्य वा साथीहरु पनि लगानी गर्न आउँछन् ।
यसरी सुरु भएको व्यवसायले एउटा स्वरुप लिएपछि थप लगानीको सम्भावना देखिए भेञ्चर क्यापिटल आउँछ । त्यस्तो व्यवसायमा गरिएको लगानीले प्रतिफल दिन थालेपछि प्राइभेट इक्विटीको लगानी आउन थाल्छ ।
व्यवसायको कुन अवस्थामा लगानी गरेको छ, त्यस आधारमा सीड, भेञ्चर, प्राइभेट इक्विटी वा ग्रोथ भनिन्छ । यी सबै प्राइभेट कम्पनीमा इक्विटी लगानी गर्नेलाई वैकल्पिक लगानी भनिन्छ ।
विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्नेगरी धितोपत्र बोर्डबाट लाइसेन्स लिएको अवसर इक्विटी अहिले के गर्दैछ ?
लाइसेन्सको लागि धेरै समय पर्खनु पर्यो । नयाँ अवधारणा भएकोले कसरी काम गर्ने, भोलिका दिनमा नीतिगत कमजोरीले समस्या आउँछ कि भन्ने हिसाबले पनि ढिला भयो ।
धितोपत्र बोर्डबाट योजना व्यवस्थापकको रुपमा अवसर इक्विटी लिमिटेडको लाइसेन्स लिएको हो । यसले लगानी भन्दा पनि फण्ड सञ्चालन गर्ने हो । सामूहिक लगानी योजनाको स्किम जस्तै यसले फरक–फरक उद्देश्यका फण्ड सञ्चालनमा ल्याउँछ र त्यस्ता कोषको व्यवस्थापन गर्छ ।
हामीले ‘अवसर इक्विटी डाइभर्सीफाइड फण्ड’ भनेर धितोपत्र बोर्डमा दर्ता भएका छौं । यो नेपालको पहिलो प्राइभेट इक्विटी फण्ड हो । हामीले ५ अर्बको फण्ड दर्ता गरेका छौं । यसमा हाम्रा संस्थापक लगानीकर्ता बैंकहरुले १० प्रतिशत लगानी प्रतिवद्धता जनाएका छन् ।
लगानीबाट ५ अर्बको फण्ड बिक्री हुने अवस्था छ । प्राइभेट इक्विटी भएकाले नियामकीय व्यवस्थाअनुसार यसको सार्वजनिक निष्कासन हुँदैन । म्युचुअल फण्डको युनिट जस्तै युनिट जारी गर्ने हुन्छ । हामीले तोकेको एक युनिटको अंकित मूल्य १ हजार र एक जना लगानीकर्ताले ५ हजार युनिट अथात् ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । २०० जनाभित्र न्यूनतम ५० लाख रुपैयाँको दरले लगानी गर्ने लगानीकर्ताबाट फण्ड संकलन गर्ने हो ।
सूचीकृत नभएको कम्पनीमा परियोजनाको अवस्था, सम्भावना जस्ता विषय हेरेर मात्रै लगानी गर्नुपर्छ । त्यसमा जोखिम उच्च हुन्छ । यसकारण सर्वसाधारणबाट सा–सानो लगानी उठाउने अवधारणा यो होइन । स्थापित लगानीकर्ता नै आउने हुनाले नियमावलीले निजी तवरबाट उच्च जोखिम बहन गर्नसक्ने संस्था र व्यक्तिलाई मात्र योग्य लगानीकर्ताको रुपमा ब्याख्या गरेको छ ।
अहिलेसम्म एक दर्जन लाइसेन्स वितरण भएपनि एउटा पनि कोष सञ्चालनमा छैन । अवसर नै धितोपत्र बोर्डमा दर्ता भएको पहिलो फण्ड हो । यसको पनि फण्ड संकलन हुन बाँकी छ । फण्ड संकलन गरेपछि मात्र लगानी सुरु हुन्छ ।
नेपालमा नयाँ प्रकृतिको यो लगानी योजनाको सम्भावना कति छ ?
इक्विटी लगानी सन् २०१२/१३ देखि सुरु भएको थियो । नेपालमै कोष दर्ता भएर लगानी गर्ने अवधारणा भने भर्खर मात्र सुरु भएको हो । अवसर इक्विटी लिमिटेड पनि गत साउनबाट मात्र सञ्चालनमा आएको हो । नयाँ क्षेत्र भएकाले त्यही अनुसार अध्ययन गर्नुपर्छ भनेर हामीले एउटा राम्रो टिम बनाएका छौं ।
भविष्यमा यसमा वैदेशिक लगानीको पनि सम्भावना छ । अन्य देशमा पनि प्रत्यक्ष वैदेशिक लगानी यही माध्यमबाट आएको देखिन्छ । विश्वमा प्राइभेट क्यापिटलको कोष संकलन गरेर लगानी नभएको रकम मात्रै ३.७ ट्रिलियन डलर हाराहारी छ । त्यसको सानो हिस्सा मात्रै नेपालमा आउने हो भने लगानीको स्रोत प्रशस्त हुन्छ । उक्त लगानी आउन हाम्रो बजारमा कति सम्भावना छ भनेर अध्ययन गर्नुपर्ने हुन्छ ।
अहिले ग्रीन बण्ड र ग्रीन इन्भेष्टमेन्टको बहस चलिरहेको छ । नेपालमा ग्रीन इनर्जीमा लगानीको सम्भावना उच्च छ । नीतिगत व्यवस्था, क्षमता र दक्षतामा भने समस्या छ । यसका लागि वित्तीय औजारहरु तयार गर्नुपर्छ । हामीकहाँ यसका लागि दक्ष जनशक्ति पनि छेन । विदेशी लगानीकर्ताले यहाँ त्यस किसिमको जनशक्ति र सम्भावना देख्यो भने लगानी गर्छ ।
अहिले लाइसेन्स लिएका कम्पनीहरुमा दक्ष जनशक्ति आइसकेका छन् । अवसर इक्वीटीले पनि बाहिर काम गरिसकेका जनशक्ति भित्राएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुशरण गर्दै व्यावसायिक रुपमा काम गर्दा विदेशी लगानी आउँछ । फण्डको संरचना र संस्थागत सुशासन भने सुनिश्चित गर्नुपर्छ ।
विशिष्टीकृत लगानी कोष तुलनात्मक रुपमा कम नियमनमा चल्छ । यसका लगानीकर्ता आफैमा लगानीको शर्तहरुमा छलफल र समझ्दारी कायम गर्न सक्षम हुन्छन् । योजना व्यवस्थापक र लगानीकर्ताबीच समझ्दारी भएर लगानी सम्झौता हुन्छ ।
लगानीकर्ताले यो क्षेत्रमा मात्रै लगानी गर्नेगरी सम्झौता गर्छु भन्न सक्छ । लगानी सम्झौता अनुसार कोष सञ्चालनको विधान बन्छ । यसको मुख्य नियमन गर्ने कागजात नै ‘विधान’ र ‘लगानी सम्झौता’ हो, जुन लगानीकर्ता र योजना व्यवस्थापकबीच हुने छलफलबाट तय हुन्छ । लगानीकर्ताले सम्भावना नभएको क्षेत्रमा लगानी गर्न खोज्दा योजना व्यवस्थापकले त्यसलाई अश्विकार गर्न सक्छ ।
कुनै व्यवसायमा लगानी गर्न इच्छुक, तर त्यसको अनुभव नभएको लगानीकर्तासँग स्रोत संकलन गरेर विशिष्टीकृत लगानी कोषले अध्ययनसहित लगानी गर्ने हो ?
लगानीकर्ताले कुनै उद्योग खोल्छु भन्यो भने त्यसको लागि अध्ययन गर्नुपर्छ । विशिष्टीकृत कोष भने अध्ययन गर्ने जनशक्ति छ भने सिधै उक्त क्षेत्रमा जान सक्छ । यसले योजनावद्ध रुपमा व्यावसायिक काम गर्नेहरुका लागि ‘इको सिस्टम’ बनाउने काम गर्छ ।
लगानीकर्ता र दक्ष जनशक्तिलाई जोड्ने काम विशिष्टीकृत लगानी कोषले गर्छ । व्यवसाय सुरु गरिसकेको छ, तर त्यसलाई विस्तार गर्न स्रोत आवश्यक छ भने त्यसमा पनि कोषले इक्विटी लगानी गर्न सक्छ । लगानीकर्तालाई कर्जा लिनुपर्ने छ, तर स्वपूँजी नपुगेर बैंकबाट कर्जा पाएको छैन भने त्यसमा प्राइभेट इक्विटी आउन सक्छ ।
दक्ष जनशक्तिले काम गर्दैजाँदा सूचीकृत नभएको व्यवसायमा लगानीको सम्भावित क्षेत्र पहिचान हुन्छ । साथै, व्यावसायिक सम्भावनासहितको औद्योगिक क्षेत्र सुरु भएर व्यावसायिक सम्भावनाको पनि पहिचान हुन्छ । लगानीकर्ताले लिएको कोषको उद्देश्यअनुसार भेञ्चर, स्टार्टअप वा इक्विटी कसलाई लगानी गर्ने भन्ने निर्धारण हुन्छ । हालसम्म औद्यौगिक रुपमा कुन क्षेत्रमा राम्रो सम्भावना छ भन्ने अध्ययन भएको छैन ।
अवसर इक्विटी डाइभर्सीफाइड फण्डले लगानीको क्षेत्र पहिचान गरेको छ ?
अवसर इक्विटीले अहिले लगानी क्षेत्र तोकेको छैन । अर्थात् हामी कुनै पनि क्षेत्रमा लगानी गर्न सक्छौं । अध्ययन गर्दा धेरै क्षेत्रमा सम्भावना देखेका छौं । त्यसैले, कुनै पनि क्षेत्रमा लगानी गर्नेगरी कोष जुटाउन लागेका छौं ।
नेपालको पूँजीबजार र अर्थतन्त्र अन्तरनिहीत छैन । जस्तो– अमेरिकाको ‘एसएण्डपी ५००’ भनियो भने त्यसमा सो मुलुकको अर्थतन्त्र प्रतिबिम्बित हुन्छ, तर हाम्रोमा अर्थतन्त्र एकातिर जाँदा नेप्से अर्कोतिर किन जान्छ ? किनकि, नेप्सेमा क्षेत्रगत प्रतिनिधित्व छैन ।
प्राइभेट इक्विटीले अध्ययन गर्दै जाँदा लगानीको सम्भावित क्षेत्र पहिचान गर्दै त्यसमा लगानीको ढोका खोलेर नेप्सेमा सूचीकृत हुन सक्यो भने भोलिका दिनमा अर्थतन्त्र र स्टक मार्केट एकैतिर जाने अवस्था बन्छ । विशिष्टीकृत लगानी कोषले अर्थतन्त्रको आधार के हुनसक्छ भन्ने बाटो देखाउने काम गर्छ ।
नेपालमा हालसम्म कुन क्षेत्रमा राम्रो प्रतिफल छ भनेर लगानीको लागि दक्ष जनशक्ति संलग्न अध्ययन भएको छैन । प्रतिवेदनको लागि सर्वेक्षण गर्नु र लगानी नै गर्छु भनेर अनुसन्धान हुनुमा धेरै फरक छ । अब त्यो खालको अध्ययन सुरु हुन्छ ।
यसबाट विदेशी लगानीकर्तालाई पनि व्यावसायिक दक्ष जनशक्तिले नेपालमा लगानीको लागि राम्रो प्रतिफल पाइने उच्च सम्भावना भएका क्षेत्रहरु यी हुन् भनेर बुझाउने काम सुरु हुन्छ । यसरी विशिष्टीकृत लगानी कोषको माध्यमबाट विदेशी लगानी ल्याएर ती क्षेत्रमा लगानी गर्न सक्छ । २.७ ट्रिलियन डलरको एउटा सानो हिस्सा मात्रै नेपालमा लगानी आउँदा पनि पर्याप्त हुन्छ ।
विशिष्टीकृत लगानी कोष नेपालमा राम्रो सम्भावना बोकेको क्षेत्र हो । यसमा सक्षम दक्ष जनशक्ति र उद्यमी बीचको इको सिस्टम तयार गर्ने, लगानी सम्भावनाको अनुसन्धानमा दक्ष जनशक्ति आवद्ध हुने, स्टार्टअपदेखि सबै प्रकारका व्यवसायमा लगानीका लागि सहयोग गर्ने फरक उद्देश्य भएका फण्ड आउँछ ।
प्रारम्भमा अवसर इक्विटी डाइभर्सीफाइ फण्ड भनेर एउटा मात्रै आएको छ । कोष ‘हाइ ग्रोथ’ र ‘प्राइभेट इक्विटी’मा केन्द्रित भएको छ । केही प्रतिशत भेञ्चर क्यापिटल र स्टार्टअपलाई पनि यो ‘इको सिस्टम’ मा ल्याउनुपर्छ भनेर लगानी गर्ने उद्देश्य लिएका छौं । नयाँ सोच र योजनालाई सहयोग गर्ने हाम्रो उद्देश्य हो ।
विशिष्टीकृत लगानी कोषले इक्विटी लगानी मात्र गर्दैन, संस्थागत सुशासन सुधारको काम पनि गर्छ । यसले निजी क्षेत्रको संस्थागत सुशासनमा सुधार गर्छ । लगानी भएको संस्थाको लेखा व्यवस्थापन राम्रो हुनपर्छ । आम्दानी अनुसार कर भुक्तानी हुनुपर्छ ।
लगानीपछि कुनै समस्या भयो वा कालोसूचीमा पर्यो भने त्यसमा दक्ष र व्यावसायिक जनशक्तिको नाम जोडिन्छ । त्यसकारण, सुशासनको शर्तमा सहमत भएमात्र लगानी गर्छौं।
सूचीकृत नभएको धितोपत्रमा लगानी गर्दा अंकित मूल्यमा गर्ने कि प्रिमियम मूल्यमा ?
अंकित मूल्यमा मात्र लगानी गर्नुपर्छ भन्ने छैन । ५०० रुपैयाँ मूल्यांकन भएको धितोपत्रमा १०० रुपैयाँ लगानी गर्छु भन्दा कसैले दिंदैन । कुनै लगानीकर्ताले गरेको मिहिनत र त्यसले ल्याएको नतिजाअनुसार मूल्य तिर्न तयार हुनपर्छ ।
मूल्यांकन गर्दा त्यसको प्रतिफल देखिनुपर्छ । प्रतिफल विना मिहिनत मात्र गरेको भन्ने आधारमा मूल्यांकन आउँदैन भने प्रिमियम तिर्ने कुरा आउँदैन । असहज अवस्थामा दुई पक्षबीच मूल्यमा केही प्रतिशत सहमति हुन सक्छ ।
प्राइभेट इक्विटी वा अन्य कुनै विशिष्टीकृत लगानी कोषको लगानीपछि उक्त कम्पनी पब्लिक लिमिटेडमा गएर सूचीकृत हुन सक्छ कि सक्दैन ?
फण्ड व्यवस्थापन गर्नेले उक्त इक्विटीबाट उद्देश्य पुरा भएपछि बाहिरिनु पर्छ । त्यसमा लगानी झिक्ने माध्यम धेरै हुन सक्छ । त्योमध्ये सार्वजनिक निष्कासन वा संस्थापकले नै सेयर खरिद गर्न पनि सक्छ । अर्को लगानीकर्ता पनि त्यसमा आउन सक्छ ।
अवसर इक्विटीले फण्ड निष्कासन अघि धेरै तयारी गरेको छ । प्राइभेट इक्विटीबारे हाम्रो अध्ययनलाई भारतीय जनशक्तिबाट पनि थप अध्ययन गराएका छौं । हाम्रो अनुसन्धान अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप छ, छैन भनेर निश्चित गराएका छौं ।
अवसर इक्विटीको अनुसन्धानमा नेपालमा कुन क्षेत्रमा लगानीको राम्रो सम्भावना देखियो ?
नेपालमा सञ्चालित सबै व्यवसायमा राम्रो सम्भावना छ । माग भएरै ती उद्योगमा लगानी आएको छ । व्यावसायिक पद्धति, नयाँ पुस्ताको नयाँ सोचजस्तो कुराहरुमा भने सुधार हुर्नुपर्नेछ ।
ऊर्जा, स्वास्थ्य, आईटी क्षेत्रमा नयाँ सोचका युवा आइसकेका छन् । इ–कमर्समा पनि लगानीको वातावरण विकास भइसकेको छ र लगानीको ठाउँ पर्याप्त छ । राम्रो अध्ययनपछि लगानी गर्दा राम्रो प्रतिफल पाइने धेरै ठाउँ छन् ।
लगानी डुब्ने सम्भावना पनि उत्तिकै छ । इनोभेसन भन्दैमा हुँदैन, दीर्घकालीन रुपमा समाजले स्वीकार गर्यो भने मात्र व्यावसायिक सम्भावना हुन्छ । त्यस्तै, नयाँ प्रविधि आउनासाथ पुराना प्रविधि प्रतिस्थापन हुन्छ भन्ने पनि हुँदैन ।
नेपालमा हाल चलिरहेको व्यवसायमा कृषिको कुरा धेरै गरिन्छ, तर त्यसअनुसार हुन सकेको छैन । ऊर्जा क्षेत्रमा अझै संस्थागत सुशासनको समस्या छ भनेर प्रश्न उठिरहेको छ । अनुसाशित भएर राम्रो पुनर्संरचना गर्ने क्षमतासहित गए नेपालमा लगानीको पर्याप्त सम्भावना छ ।
प्राइभेट इक्विटी वा अन्य विशिष्टीकृत लगानी कोषको माध्यमबाट प्रत्यक्ष वैदेशिक लगानी ल्याउन कानुनी बाटो कतिको सहज छ ?
तत्काल प्रत्यक्ष वैदेशिक लगानीको सम्भावना देखिंदैन । यसमा आजको आजै नतिजा खोजेर पनि हुँदैन । यसमा नीतिगत बाटो खोल्दै जानुपर्छ ।
दक्ष व्यावसायिक जनशक्ति तयार भएर काम गर्ने, केही अनुभव भएपछि विदेशी लगानी ल्याउने वा आउने कुरा सोच्न सकिन्छ । अहिले नै बाटो खोले पनि विदेशी लगानी आइहाल्छ भन्ने देखिदैन । राम्रो व्यावसायिक टीम र वातावरण बनेपछि लगानी आउँछ ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय अभ्यास हेरेर नीतिगत सुधारमा लाग्नुपर्छ । धितोपत्र बोर्डले एउटा नीति ल्याइसकेको छ । त्यसमा विदेशी लगानी आउनसक्ने भनेको छ । विदेशी लगानी ल्याउन धितोपत्र बोर्डले मात्र भनेर हुँदैन, सरकारले नीतिगत सम्बोधन पनि गर्नुपर्छ ।
विदेशी लगानीको सम्बन्धमा सरकारले फरक तरिकाबाट सोच्नुपर्ने हुन्छ । आएको विदेशी लगानी एकैपटक फिर्ता भयो भने अर्थतन्त्र धरासायी हुनसक्ने जोखिम हुन्छ ।
व्यावसायिक टिममार्फत काम गर्दा कोषको अवधि, लगानी र नियमित प्रतिफल दिने जस्ता परिणाममा अनुशासित बाटोबाट जाने भएकोले भोलिका दिनमा फरक किसिमको भूमिका खेल्न सक्छ । व्यावसायिक जनशक्तिको अनुसन्धानको आधारमा पहल गर्दा लगानी आउने र जाने हुँदा त्यसले सन्तुलन कायम गर्छ । एकैपटक ह्वातै आउने र समस्या पर्नेगरी बाहिरिने वा ह्वातै आएर हाम्रो अनुशासन नै बिगार्ने अवस्था नहोला भन्ने लाग्छ । यस्ता संस्थामा यस्तो विज्ञता छ कि छैन भनेर आस्वस्त पार्नुपर्छ ।
त्यही भएर हामीले सुरुदेखि नै कम्पनी खडा मात्र गर्ने भन्दा दक्ष जनशक्ति तयार गरेर राखेको छौ । २०७९ साउनमा कम्पनी स्थापना गरेर जनशक्ति व्यवस्थापनमा लाग्यौं हामी । व्यवसाय गर्दै जाँदा धेरै जनशक्ति चाहिन्छ । अबको ५ वर्षमा यसको रुपरेखा नै धेरै परिवर्तन हुन्छ भन्ने लाग्छ ।