April 28, 2023
Private equity is set to play a bigger role in Nepal’s economy.
Dhruba Timilsina is the Chief Executive Officer of Avasar Equity Limited, a company that invests in potentially high-growth private companies...
April 28, 2023
नेपालकै पहिलो प्राईभेट इक्वीटी फन्ड (पीईभिसी) मा लागानीकर्ताको आकर्षण उच्च देखिएको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम स्थापना भई नेपाल धितोपत्र बोर्डमा दर्ता भएको नेपालको पहिलो प्राईभेट इक्वीटी फन्डको साढे चार अर्बभन्दा बढी इकाई बिक्री भएको हो ।
कोष व्यवस्थापक अवसर इक्वीटी लिमिटेडले परिपत्र विधिबाट २०७९ फागुन १५ गते देखि २०७९ चैत्र १५ गतेसम्म इकाई निष्काशन गरिएकोमा ४ अर्ब ५० करोडभन्दा बढी इकाईहरुको बिक्री भई कोष निष्काशन बन्द भएको घोषणा गरिएको छ ।
विद्यमान बजारको चुनौतीपूर्ण अवस्थामा समेत कोषमा लगानी गर्नका लागि लगानीकर्ताबाट अत्याधिक विश्वास प्राप्त गरेको हो । यसरी नेपालमा दर्ता भई सञ्चालनमा आउने पहिलो कोषले निष्काशन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोशे ढुङ्गाको रुपमा लिएको अवसर क्यापिटलले जनाएको छ ।
अवसर इक्विटी लिमिटेडमा सिद्धार्थ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड गरी चार वटा वाणिज्य बैंकको लगानी रहेको छ । यस्तै नेपालको वित्तीय क्षेत्रका व्यवसायीक व्यक्तिहरु तथा उच्च नेटवर्थ भएका नेपालका प्रतिष्ठित व्यक्तिले प्रवद्र्धन गरेका छन् । अवसर इक्वीटीले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम नेपाल धितोपत्र बोर्डबाट कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त गरेको छ ।
यसको उद्देश्य असाधारण नेपाली उद्यमीहरूको पहिचान गरी त्यस्ता उद्योगको विकास र विस्तारका लागि स्वपुँजी प्रदान गर्ने र उनीहरूका नवीन र दूरदर्शी व्यापार विचारहरूलाई वास्तविकतामा परिणत गर्ने रहेको छ । संस्थाले निजी कोषहरुलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने र उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।
कोषले व्यापार वृद्धिका रणनीतिहरू कार्यान्वयन गर्न सक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरुको विकास र विस्तारमा सघाउ पुर्याउनेछ । यसबाट एकातर्फ देशको आर्थिक विकासमा योगदान गर्ने र अर्कोतर्फ कोषमा लगानी गर्ने लगानीकर्ताहरुलाई उचित प्रतिफल समेत प्रदान गर्ने गरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । लगानीका लागि कोष व्यवस्थापकको इमेल ठेगाना rm@avasarequity.com मार्फत सम्पर्क गर्न सकिने बताइएको छ ।
साथै अवसर इक्वीटी लिमिटेडले कोष सञ्चालन स्वीकृति प्रदान गर्ने नेपाल धितोपत्र बोर्ड तथा हामीलाई विश्वास गरी कोषमा लगानी गर्ने लगानीकर्ता प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै कोष निर्माण कार्यमा सघाउ पुर्याउने संस्थापकहरु लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।